सोनललाई मुख्यमन्त्री बनाउन बुझाएको पत्र आधिकारिक : जनमत पार्टी

   २९ आश्विन २०८२, बुधबार १६:१३  

२९ असोज, काठमाडौँ । जनमत पार्टीले मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनललाई आफ्नो समर्थन रहेको जनाएको छ ।

जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै यस्तो बताएका हुन् ।

लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने गरी कांग्रेस, एमालेबाहेक पाँच दलको पत्र मुख्यमन्त्री कार्यालयमा गएपछि कांग्रेसले पनि सरकारको लागि दाबी पेस गरेको छ ।

कांग्रेसले दाबी पेस गरेपछि जनमत पार्टीले प्रदेश प्रमुखलाई पत्र पठाएर जनमत संसदीय दलको तर्फबाट आधिकारिक रूपमा जितेन्द्रप्रसाद सोनार (सोनल)लाई मुख्यमन्त्रीमा समर्थन भएको पत्र आधिकारिक रहेको जानकारी गराएको छ ।

असोज २२ गते कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार बनाउन जनमत पार्टीका १३ जनाको हस्ताक्षर प्रमुख कार्यालयमा बुझाएको थियो । कांग्रेस, एमाले र जनमत पार्टी गठबन्धनको सरकार बनाउने लगभग तय भइसकेको थियो ।

तर, मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा नदिएको र प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान नभएको अवस्थामा तीन वटै दलले बुझाएको हस्ताक्षर वैधानिक नरहेको आलोचना त्यही बेला सुरु भएको थियो ।

सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि जसपा नेपाल, लोसपा नेपाल, माओवादी केन्द्र, जनमत पार्टी र नेकपा (एस)ले लोसपा नेपालका उपाध्यक्ष सोनललाई मुख्यमन्त्री बनाउने गरी ५६ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।

असोज २२ गते बुझाएको पत्रलाई आधिकारिक भन्दै कांग्रेसले दाबी गरेपछि जनमत पार्टीले आज बुझाएको पत्र नै आधिकारिक रहेको जानकारी प्रदेश प्रमुखलाई गराएको संसदीय दलका नेता यादवले बताए ।