बारामा आतंक मच्चाउँदै आएको नरभक्षी बाघ नियन्त्रणमा

   ३ आश्विन २०८२, शुक्रबार १३:१४  

३ असोज, रौतहट । बाराको अमलेखगञ्ज क्षेत्रमा लगातार आक्रमण गरी मानिसको ज्यान लिँदै आएको बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरूको संयुक्त पहलमा लामो समयदेखि भइरहेको प्रयास शुक्रबार बिहान सफल बनेको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको सक्रिय समन्वयमा बाघलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

यसअघि पटक–पटक नियन्त्रणको प्रयास असफल भएपछि अमलेखगञ्ज आसपासका बासिन्दा त्रसित बनेका थिए। मान्छेमाथि निरन्तर आक्रमणका घटनाले स्थानीय जनजीवन असुरक्षित बनेको अवस्थामा बाघ नियन्त्रणमा आउनु ठूलो राहतको विषय बनेको छ।