सुशीलाकाे नाममा सहमति, संसद विघटनबारे विवाद

   २७ भाद्र २०८२, शुक्रबार १०:५९  

२७ भाद्र, काठमाडौं । तत्कालीन प्रधानन्यायाधी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा दलीय सहमति पनि जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सबै पार्टीका नेताहरुसँग कुराकानी गर्दै दलीय सहमति जुटाएका हुन् ।

राष्ट्रपति पौडेलले सभामुख, संविधानविद्, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको सुझाव लिएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

“सबैसँगको छलफलपछि उहाँलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको छ, जेनजीको माग पनि त्यही भएको हुनाले उहाँको नाममा कसैले विरोध गरेका छैनन् । तर संसद् विघटनको विषयमा कुरा मिलेको छैन,” वार्ता प्रक्रियामा रहेका एक उच्च तहका अधिकारीले भने ।

राष्ट्रपति पौडेल संसद् विघटनको पक्षमा छैनन् । जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिलेको छैन ।