प्रधानमन्त्रीले बोलाएपछि विवादमा तानिएका मन्त्री गुप्ता बालुवाटारमा

   ३० असार २०८२, सोमबार ११:१५  

३० असार, काठमाडौँ । घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीले बोलाएपछि केहीबेर अघि मन्त्री गुप्ता बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुप्ताले घुस रकम डिल गरेको अडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचना भइरहेको छ । सोही विषयमा बुझ्न प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बोलाएको बुझिएको छ ।

‘मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि उहाँ आइपुग्नु भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘सम्भवतः उहाँले आजै राजीनामा दिनुहुन्छ ।’