जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ : जनमत

   १० माघ २०८०, बुधबार १५:०८  

१० माघ, काठमाडौ‌ । डा. चन्द्रकान्त राउत नेतृत्वको ज्नमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन् ।

मंगलबार बसेको जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आफूहरु बाहिरिएको र सरकारलाई दिएको समर्थ फिर्ता लिएको संस्कृतिमन्त्री यादवले बताए ।

उनले सरकारले जनमुखी काम नगरेको र आफूहरु मन्त्री भइसकेपछि बिना विभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरुको मातहतका मन्त्रालयहरु एकल ढंगले चलाउने गरेको आरोप लगाए । सरकारको एक वर्षे कार्यकालमा पनि जनताले सरकार भएको अनुभति गर्न नसकेको बताए ।

उनले आफूहरु जनताका काम गर्न आएकाले जनताका काम गर्न नदिएपछि सरकारमा बस्न नसक्ने बताए ।