पल शाह कारागारबाट रिहा

१५ फागुन, काठमाडौं । नेपाली चलचित्रका नायक पल शाह सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन् । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोल वाग्लेका अनुसार कानुनी प्रक्रिया पूरा गरी उनी रिहा भएका हुन् ।
गत वर्ष पलविरुद्ध नाबालिगलाई बलात्कार गरेको किटानी जाहेरी परेको थियो । त्यसपछि उनले गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
जिल्ला अदालत तनहुँले उनलाई बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुर्व्यवहारमा दुई वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । सोही फैसलालाई उच्च अदालत पोखराले आइतबार उल्टाउँदै पललाई सफाइ दिएको हो ।
बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भए ।