नेपाल प्रहरीका एसपी रामेश्वर यादव र विमल बस्नेत निलम्बनमा

   १७ मंसिर २०७७, बुधबार १४:१५  

१७ मंसिर,  काठमाडौं । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको आरोपमा गृहमन्त्रालयले २ जना एसपी र एकजना इन्सपेक्टरलाई निलम्बन गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसपछि मन्त्रालयले बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । निलम्बनमा पर्नेमा इन्सपेक्टर मेघराजप्रसाद चौरासीया पनि छन् ।

एसपीद्वयमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ । रञ्जितकार प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा कार्यरत छन् । यादव यसअघि सिन्धुलीमा कार्यरत रहँदा पनि गाँजा उत्पादन गर्नेप्रति नरम देखिएको भन्दै सर्वेन्द्र खनाल नेतृत्वमा रहेका वेला प्रहरी मुख्यालयले छानविन गरेको थियो ।

प्रहरी प्रधान कार्यालयमा उनीहरुविरुद्ध गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेको थियो । यादव र बस्नेत दुवै विवादास्पद छविका अधिकृतका रुपमा चिनिन्छन् ।