प्रचण्डले ‘कू’ गरेर सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप
१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत बहुमत सचिवालय सदस्यहरूले आफूमाथि कूको प्रयास गरेको बताएका छन् । १३ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डलाई जवाफ दिनुअघि उनले यस्तो दुखेसो पोखेका हुन् ।
मंसिर १३ गते उनले ५३ बुँदे प्रतिवेदन प्रचण्डको काउन्टरमा प्रस्तुत गरेकै दिन यस्तो बताएका हुन्। उक्त दिन ओलीले राखेको धारणा आज उनको सचिवालयले सार्वजनिक गरेको हो।
प्रचण्डले १९ बुँदे प्रस्ताव राखेपछि रुष्ट बनेका ओलीले आफूविरुद्ध आएको प्रस्ताव खारेजसमेत गरेको बताएका थिए। उनले यो शैलीले एकताको बाटो छाड्न खोजेको हो कि भनी प्रश्नसमेत प्रचण्डलाई गरेका छन्। भनेका छन्, ”बीचमा हतार किन गर्ने र? ‘कू’ को शैलीमा एकता–एकीकरणको बाटो छाडेर सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने? के यी कामहरूले हामीलाई एकताको बिन्दुमा पुर्याउँछन्?’
“मैले कमिटीका निर्णय मान्दिनँ भनेको होइन । तर, एकता गरिरहँदा, एकताको बाटोतर्फ अघि बढिरहँदा हामीले शक्तिको हिसाब गरेनौं, सामथ्र्यको हिसाब गरेनौं । केही पनि हिसाब नगरिकन एकताको भावनाका साथ म आफैँले निर्णय गर्दा, म आफैँ अल्पमतमा पर्नेगरी मैले कमिटीहरूको निर्माण गरेको थिएँ । अल्पमतमा पर्ने नै गरी एकता गरेको थिएँ,” उनले बैठकलाई सम्बोधन गर्दै भने, “पूर्व एमालेभित्रको स्थिति पनि हामी सबैलाई थाहा थियो र फेरि पूर्व माओवादी केन्द्रलाई दिइएको संख्यासमेत जोड्दा के हुन्छ ? त्यो पनि थाहा थियो र थाहा छ । एकतातर्फ जाँदाखेरी, एकताको भावनाका साथ जाँदाखेरी त्यस्तो संख्याले केही पनि बिगार्दैन । त्यो संख्या एकताको भावनाका साथ अगाडि बढ्नका लागि सबैमा एउटा उत्साह र समानताको भाव, सम्मानको भाव र हामी साझा कर्तव्यमा केन्द्रित भएर, साझा उद्देश्यमा केन्द्रित भएर, साझा लक्ष्य जम्मा गर्न अगाडि बढ्दै छौं भन्ने कुरालाई ध्यानमा राखेर अहिलेका कमिटीहरू मनोनयन गरिएका थिए ।”
उनले अहिलेका कमिटी अधिवेशन, महाधिवेशन वा सम्मेलनबाट बनेका निर्वाचित कमिटी नभएकाले बहुमत र अल्पमतको कुरा गर्न नमिल्ने बताएका थिए ।
“कोही आफ्नो अलोकप्रियताले अल्पमतमा वा कोही लोकप्रियताले बहुमतमा गएको स्थिति पनि होइन । त्यही हो भने चैत २५ देखि ३० सम्म महाधिवेशन गरौं भनेर हामीले भनेका छौं, गछौं भनेका छौं र महाधिवेशन गरौं । लोकप्रियता त्यहाँ प्रकट हुन्छ नि ! बहुमत को हो ? अल्पमत को हो ? त्यो गरे भइगो । तर, यसबीचमा जसरी एकता भाड्ने खालका प्रयासहरू भए, एकताका लागि गरिएको संगठनात्मक र संख्यात्मक प्रबन्धलाई लत्याएर ‘कू’ का प्रयासहरूको निम्ति दुरूपयोग गर्ने र एकता बिथोल्ने खालका अबाञ्छित प्रयासहरू भएका छन् । यी अवाञ्छित प्रयासहरू कुनै पनि स्थितिमा सह्य र ग्राह्य हुँदैनन् । म फेरि पनि कमरेडहरूलाई स्पष्ट पार्न चाहन्छु, यी कुनै पनि हिसाबले सह्य, ग्राह्य र मान्य हुँदैनन्,” उनले स्पस्ट शब्दमा भनेका थिए ।