कोरोना संक्रमणका कारण थप तीन जनाले ज्यान गुमाए
१७ मंसिर, रौतहट । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट मृतयु हुनेमा पाल्पाका एक जना, स्याङजाका एक जना र दाङका एक जना गरी थप तीन जनाको मृत्यु भएको हो ।
पाल्पाको बगनासकाली गाउँपालिका १ बस्ने ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मंसिर १२ गते कोरोना पुष्टि भए पनि उपचारका लागि उनी मंसिर १४ गते भर्ना भएका थिए ।
यस्तै, स्याङजाको गल्याङ नगरपालिका ४ निवासी ३९ वर्षीय पुरुषको उपचारकै क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि, उनी मंसिर १ गते पीसीआर परीक्षण गराउँदा मंसिर २ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुषको आज बिहान करिब ५ बजेको समयमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि मंसिर ६ गते उनी प्रिआइसोलेसनमा भर्ना भएका थिए ।
पीसीआर परीक्षण गराउँदा मंसिर ७ गते उनमा संक्रमण पुष्टि भएसंगै सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड १९ आइसोलेसनमा भर्ना भएका थिए ।
उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो तर बचाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्यामात्रै ५२ पुगेको छ ।