कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाए
१६ मंसिर, रौतहट । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेमा रुपन्देहीका एक जना र कपिलवस्तुका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।
बुटवल ७ बस्ने ५३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनमा यही मंसिर १३ गते संक्रमण पुष्टि भएपछि, मंसिर १५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
संक्रमण भएपनि दुई दिनसम्म होम आइसोलेशनमा बसेकी संक्रमितका अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको डा. गौतमले बताए ।
यस्तै, कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको छ । यही मंसिर, ११ गते कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा उपचारका लागि मंसिर १३ गते भर्ना भएकी महिलाकी महिलाका सोमबार दिउँसो मृत्यु भएको डा. गौतमले बताए। उनी मधुमेहको दीर्घ रोगी थिइन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१, कपिलवस्तुमा २१ र लुम्बिनी प्रदेशमा २९२ पुगेको छ ।