ओलीको अडान, प्रचण्ड नेपाल पक्ष भन्छ; बहुमतबाटै निकास
१५ मंसिर, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष सहमतिको गृहकार्यमा जुट्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल समूह भने बहुमत अल्पमतको अडानमा छ।
ओली समूहका नेताहरुले दुई अध्यक्षको सहमतिबिनाको प्रस्तावमा बहुमत अल्पमत हुने पार्टीमा कुनै व्यवस्था नै नभएको दाबी गरिरहेका छन्। बैठकमा लिखित रुपमै प्रस्तुत भइसकेको विवाद दुई अध्यक्षको सहमतिमा मात्रै नटुंगिने प्रचण्ड(नेपाल समूहको दाबी छ।
मंसिर ३ गते बसेको सचिवालय वैठकमा प्रचण्डले ओलीमाथि १९ पृष्ठको आरोप सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा ओलीले पार्टीलाई निकास दिनुपर्ने उल्लेख गरेका छन्।
कमरेड केपी ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ, प्रचण्डको प्रतिवेदनमा लेखिएको छ।
ओलीले भने प्रचण्डले लगाएका आरोपको जवाफ सहित मंसिर १३ को सचिवालय बैठकमा महाधिवेशनसम्म अध्यक्ष र ५ वर्षसम्म आफू नै प्रधानमन्त्री हुने दाबी गरेका छन्।
उनले प्रचण्डले पद त्याग गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् भने समस्याको समाधान पार्टी कमिटीबाट नभइ दुई अध्यक्षको सहमतिबाट मात्रै हुने उल्लेख गरेका छन्। उनले प्रचण्डको प्रस्तावको खारेज गर्दै भदौ २६ को स्थायी कमिटीको निर्णयमा फर्कनु पर्ने बताएका छन्।
पार्टीमा बिग्रह निम्ताउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौं र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔं, ओलीले प्रस्तावमा भनेका छन्।