नगरप्रमुखले बर्दिबासका दुबै मृतक परिवारलाई २ लाख ५० हजार रुपैयाँ राहत दिने

   ११ मंसिर २०७७, बिहीबार १४:१४  

११ मंसिर, रौतहट । बर्दिबासमा भएको घटनामा मृत्यु भएका दुबै मृतकका परिवारलाई बर्दिबास नगरपालिकाले जनही २ लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

बालत्कारपश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाव साह खातुन र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेका परिवारलाई जनही २ लाख ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने नगरप्रमुख विदुर कार्कीले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

यस्तै प्रहरीको गोली लागेर मृत्यु भएका संजय भनिने वुद्धिराज न्यौपानेका परिवारका एक जना सदस्यलाई योग्यता एवं दक्षता अनुसार रोजगारी समेत उपलब्ध गराउने प्रतिवद्धता नगरप्रमुख कार्कीले जनाएका छन् ।

दुवै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाहीको साथै उचित क्षतिपूर्ति दिन सरकारसँग माग समेत नगरपालिकाले गरेको छ।

मृतक बालिका गुलाब साह खातुन र संजय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरप्रमुख कार्कीले मृतक परिवारप्रति संवेदना प्रकट समेत गरेका छन् ।