भारतका विदेश सचिव हर्षबद्र्धन श्रृंगला ११ बजे काठमाडौंमा पुगे

   ११ मंसिर २०७७, बिहीबार १२:२९  

११ मंसिर, रौतहट । बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत भारतका विदेश सचिव हर्षबद्र्धन श्रृंगला नेपालको दुई दिने औपचारिक भ्रमण अन्तर्गत आज नेपाल आइपुग्नुभएको छ ।

आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका उच्च अधिकारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम हो । साथै प्रमुख विपक्षी दल नेपाली काँग्रेस लगायत दलका उच्च नेतासँग भेट गर्नुहुने जनाइएको छ ।

भ्रमणकै क्रममा उहाँले भारत सरकारले सहयोग स्वरूप पठाएको (कोभिड १९) सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुनेछ ।
विदेशसचिव श्रृंगलाले भ्रमणका क्रममा आज परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्नुहुनेछ । यस द्विपक्षीय भेटमा नेपाल भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुनेछ ।

विशेषगरी उहाँको यो भ्रमण नेपाल भारत संयुक्त आयोगको बैठकको तयारीका लागि केन्द्रित रहने भएकाले त्यस बैठकमा उठान गर्नुपर्ने विषयमा परामर्श हुनेछ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले नेतृत्व गर्नुहुने आयोगको छैटौँ बैठक अर्को महिना भारतको नयाँ दिल्लीमा गर्ने तयारी भइरहेको छ ।

विदेश सचिव श्रृंगला भोलि स्वदेश फर्कनुहुने कार्यक्रम छ ।