पत्रकार साहले पाए कोरोना बिमा बापत एक लाख ।
१० मंसिर , रौतहट । कोरोना संक्रमित भएर निको भएका रौतहटका संचारकर्मी आर एन (राज नारायण) साहले कोरोना बिमा बापतको दाबी रकम एक लाख प्राप्त गरेका छन ।
माधव नारायण नगरपालिकाको सहकार्यमा पत्रकार महासंघ रौतहट शाखाले सदस्य र क्रियाशिल समेत कुल ८५ जनाको कोरोना बिमा गराएको थियो । कोविड १९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवश्थामा समाचार संकलन गरिरहेका रौतहटका संचारकर्मीका लागी ८५ लाखको कोरोना जिवन बीमा गरेको थियो ।
बिमा रकम प्राप्त भए पछि आर्थिक हिसाबले सहयोग प्राप्त भएको संचारकर्मी आर एन साहले बताए । “संक्रमित हुदाको पीडा र अपहेलनाले निकै चित दुखेको थियो तर त्यसबेला पनि नेपाल पत्रकार महासंघले विभिन्न सहयोगहरु गरेको थियो ।” साहले भने “गाह्रो परेको बेला संगठनले नेतृत्वदायी भूमिका खेलेको छ, त्यसमा खुशी छु ।”
“विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उदेश्यले बीमको व्यवस्था गराएका थियौ ।” नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले भने “संक्रमणका बेला सुरक्षित रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न र संक्रमित भइ हालेको अवश्थामा आर्थिक सहयोग हुने भएकोले हामीले बिमा व्यवस्था गराएका हौं ।” बिमा कम्पनीको कारण दाबी रकम प्राप्त हुन समय लागेको उनले बताए ।
नेपाल पत्रकार महासंघ सँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बीमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतह शाखाका सचिव श्रेष्ठले बताए ।