वीरगञ्जबाट पेस्तोल र बेहोस पार्ने औषधिसहित एक ४९ वर्षीय पुरुष पक्राउ

   १० मंसिर २०७७, बुधबार ११:२१  

१० मंसिर, रौतहट । वीरगञ्जबाट पेस्तोल र बेहोस पार्ने औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सर्लाही जिल्लाको बलरा नगरपालिका १० घर भई हाल पर्साको वीरगञ्ज ११ दुर्गा टोल बस्ने ४९ वर्षीय जितेन्द्रप्रसाद सिंहलाई पेस्तोल र बेहोस पार्ने औषधिसहित मंगलबार साझ करिब ७ बजेको समयमा पक्राउ गरिएको हो ।

स्टील दराजको सेफ बक्स भित्र ७.६५ एमएमको ४ राउण्ड गोली लोड गरि राखिएको १ थान म्यागजिन, पेस्तोल र मानिसलाई बेहोस पार्ने एनेस्थेटिक इथर आइपी नामक ५ सय एमएलको बोत्तल वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको घरबाट बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।