भारतमा एकैदिन थपियो करिब २५ हजार कोरोनाका नयाँ संक्रमित

   २१ असार २०७७, आईतवार ०७:१८  

असार २१, रौतहट । भारतमा बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) का २४ हजार ८५० नयाँ संक्रमित भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो, भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ६१४ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन्, भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ ।त्यस्तै तामिलनाडुमा एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि एक हजार ४५० पुगेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यो राज्यमा तीन हजार चारजनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै संक्रमितमध्ये ७७३ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ७३६ जनाको मृत्यु भइसकेको छ । बिहारमा ११ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्, भने ८९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा चार लाख नौ हजार ८३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।