फोरजी बजारमा दूरसञ्चारको कमजोर प्रर्दशन, एनसेल माथि अगाडि बढ्दै
८ मंसिर, रौतहट । फोरजी प्रविधिमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको बजारको उपस्थिति कमजोर देखिएको छ । समग्र ग्राहक आधार बलियो रहेको कम्पनीले पछिल्लो मोबाइल प्रविधिमा भने बजारमा अपेक्षित स्थान ओगट्न नसकेको हो ।
हाल नेपालको टेलिकम बजारमा नेपाल टेलिकमको हिस्सा ५५.५३ प्रतिशत रहेको छ । तर फोरजी प्रविधिमा भने कम्पनीको बजार हिस्सा २९.०८ प्रतिशत मात्रै छ ।
नेपालमै पहिलो पटक फोरजी सेवा सुरुवात गरेको भए पनि टेलिकम बजार कायम तथा विस्तार गर्ने सवालमा भने एनसेल अघि कमजोर देखिएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कुल ५५ लाख १६ हजार ५५४ सब्सक्राइबर (सिम प्रयोगकर्ताले) फोरजी सेवा लिइरहेका छन् ।
जसमध्ये एनसेल सबैभन्दा अगाडि छ । उसले ३७ लाख २९ हजार ४५३ ग्राहकलाई फोरजी डेटा उपलब्ध गराइरहेको छ ।
जब कि टेलिकमका फोरजी प्रयोगकर्ता भने मुस्किलसँग १६ लाख ४ हजार ४५६ पुगेका छन् । तेस्रो मोबाइल सेवाप्रदायक स्मार्टसेलले भने एक लाख ८२ हजार ५५५ ग्राहकलाई फोरजी डेटाको पहुँच दिएको छ ।
समग्र फोरजी बजारमा पछाडि परेपनि टेलिकमले आफ्नो उपस्थितिलाई केही सुधार भने गर्दै लगेको छ । फोरजीमा गत वर्ष कम्पनीको बजार हिस्सा १९.१७ प्रतिशत मात्र रहेको थियो ।
एक वर्षको अवधिमा सात लाख ६९ हजार ४६१ ग्राहक थप्दै १० प्रतिशतले आफ्नो बजार हिस्सा सुधार गरेको हो । फोरजी प्रविधिमा पछाडि देखिए पनि समग्र डेटा तथा मोबाइल इन्टरनेट बजारमा ९थ्रीजी सहित० भने टेलिकमले करिब ६० प्रतिशत हिस्सा ओगटेको छ ।