प्रतिष्ठानमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
८ मंसिर, रौतहट । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेहरुमा इलाम १ का २५ वर्षीय र सुनसरीका २७ वर्षीय पुरुष रहेका हुन् ।
इलामका २५ वर्षीय पुरुषमा यही मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि, सोही दिन उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
तर, उपचारका क्रममा गएराति करिब ९ः३० बजेको समयमा उनको मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।
ती संक्रमित पुरुषमा कुनै दीर्घ रोग नरहेको अस्पतालले जनाएको छ ।
यस्तै, सुनसरीका २७ वर्षीय पुरुषमा गत कार्तिक २२ गते कोरोना पुष्टि भएपछि, उनलाई मङ्सिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार आज बिहान पौने ७ बजे मृत्यु भएको हो ।
सुनसरीका संक्रमितमा दीर्घ रोग मधुमेह रहेको थियो ।