चितवनमा थप एक संक्रमित महिलाको मृत्यु
७ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट चितवनमा थप एक ५४ वर्षीया महिलाको मृत्यु भएको छ ।
संक्रमणका कारण मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ८ निवासी ५४ वर्षीया महिलाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
यही कार्तिक २९ गते श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । भर्ना भएकै दिन पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएपछि, कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारका क्रममा आज बिहान करिब ११ः१५ बजेको करिबमा ती संक्रमितको मृत्यु भएको मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिए ।
डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।