कोरोनाका कारण थप एक जनाले ज्यान गुमाए

   ४ मंसिर २०७७, बिहीबार १२:१२  

४ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा गोदावरी ४ निवासी ७४ वर्षीय पुरुषको बुधबार गएराति मृत्यु भएको हो ।

एक्कासि श्वासप्रश्वासको समस्या भएपछि, अस्पतालमा उपचारका लागि आएका ती पुरुषको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको संक्रमित पुरुषको बुधबार राति करिब १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पोजिटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनी मधुमेह रोगबाट समेत पीडित रहेका अस्पतालले जनाएको छ ।