गौर हत्याकाण्डका अपराधीहरुलाई कारवाही गर्न विलम्ब गर्नुहुँदैन: प्रभु साह

   ३ मंसिर २०७७, बुधबार १५:५७  

३ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गौर हत्याकाण्डका अपराधीहरुलाई कारवाही गर्न विलम्ब गर्न नहुने बताएका छन् ।

बुधबार  रौतहटको बौधीमाई नगरपालिका-४,  इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले रौतहटको कलंकको रुपमा राजपुर बम काण्ड र गौर हत्याकाण्ड रहेको बताए । उनले राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डको अपराधी खुलेआम घुम्नु दु:खद रहेको बताए । हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले अपराधीलाई कारवाही गरि रौतहटमाथि लागेको कंलक हटाउन ध्यानाकर्षण गराएका हुन् ।

घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेतले अपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहले बताए ।

“दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ । एउटा बम काण्ड र अर्को गौर काण्ड । बम काण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ । रौतहटमाथिको कलंक हटाउन गौर हत्याकाण्डको अनुसन्धान हुनु जरुरी छ । यसमा जोसुकै व्यक्ति दोषी देखिन्छ भने त्यसलाई दण्डित गर्नुपर्छ ।” नेता साहले भने, “यहाँ जाहेरी दर्ता भएको छ, तत्काल न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ। त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन। गौर हत्याकाण्डबारे आँखा चिम्लेर बस्‍न सकिँदैन। यस घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ, पीडित पक्षले न्याय पाउनुपर्छ।” नेता साहले थपे, ” तर आज यति दिन बितिसक्दा पनि न्यायको लागि गुहार्नुपर्ने र दोषीलाई लाई कारवाही नहुने अवस्था आउनु दु:खद छ ।”

“हामी ती वीर सहिदहरुको पीडित पीडित परिवारलाई विश्वस्त पार्न चाहन्छौं कि हत्याराहरु अब छिटै जेलभित्र हुनेछन् । अब गौर हत्याकाण्डको अपराधीलाई सजाय दिन विलम्ब हुनुहुँदैन । म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।” नेता साहले भने ।

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् ।

कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरु त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।