कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

   ३ मंसिर २०७७, बुधबार १०:५१  

३ मंसिर, रौतहट । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँकेमा एक जना र ललितपुरमा एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङको घोराही उपमहानगरपालिका १७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर परीक्षण गराउँदा यही कार्तिक, २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि होमआइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्थामा जटिल बनेपछि मंसिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा पनि उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

यससँगैै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारको क्रममा ज्यान गुमाएका ४० र बाँके जिल्ला निवासी ३७ गरी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७७ पुगेको छ ।

यस्तै, ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या भएपछि, उनी यही कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आईसीयूमा राखेर उनको थप उपचार थालिएको थियो ।

ती महिलाको बुधबार बिहान २ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार उनमा पुरानो दमको समस्यासमेत थियो ।