वीरगन्ज सीमाबाट लागुऔषधसहित दुईजना फेला
२ मंसिर, रौतहट । नेपाल भारतको वीरगन्ज सीमाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध चरेससंगै पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका २ छपकैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगन्ज ५ वयुका २३ वर्षीय धीरज पटेल रहेका वडा प्रहरी कार्यालय विर्ता, पर्साका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेशराज पुरीले जनाएका हुन् ।
नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि उनीहरुको शरीर खानतलास गर्दा ४ किलो ९०० ग्राम चरेस बरामद भएको पुरीले जानकारी दिए ।
‘वीरगञ्ज महनगरपालिका–१६ स्थित नेपाल भारत सीमाको मितेरी पुल नजिकै सडकमा हिँडिरहेको अवस्थामा उनीहरुले खुट्टामा लुकाएर चरेस भारत लैजान खोजेका थिए,’ इन्सपेक्टर पुरीले भने, ‘पटेलको साथबाट २ केजी ४५० ग्राम र श्रीवास्तवको साथबाट २ केजी ४५० ग्राम चरेस फेला परेको हो ।’
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको पुरीले बताए ।