बिना हेडफोन नै आवाज सुन्न मिल्ने प्रविधिको विकास हुँदै

   २ मंसिर २०७७, मंगलवार ११:१३  

२ मंसिर, रौतहट । हामी प्रायजसो गीत सुन्दा, फिल्म  हेर्दा वा कुरा गर्दा हेडफोन लगाएर सुनिरहेका हुन्छौं । यसको फाइदा पहिलो त साउण्ड राम्रो आउने, बाहिरको आवाजले कुनै असर नपर्ने भएकाले पनि हो ।

त्यतिमात्रै होइन ,तपाईंले के सुनिरहनु भएको छ भन्ने कुरा अरुले नसुनुन् भन्ने पनि हुनसक्छ । तर, अब यसका लागि तपाईंले कानमा हेडफोन नै लगाउनुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।

इजरायलको स्टार्टअप कम्पनीले नोभेटोले एक नयाँ सिस्टम निमार्ण गरेको छ, जसमार्फत अब तपाईं आफ्नै साउण्ड बबलमा घुम्न पाउनु हुनेछ । यसको अर्थ तपाईं उक्त डिभाइसबाट आउने म्युजिक तपाईंले मात्रै सुन्नु हुनेछ । त्यो हुँदा तपाईं जस्तोसुकै अवस्थामा पनि आफ्नो मनपर्ने म्युजिकका साथ हिँड्न सक्नुहुनेछ ।

यसको परीक्षण डेस्कटप कम्प्युटरमार्फत गरिएको उल्लेख छ । जुन पूर्णरुपमा सफल भएको दाबी गरिएको छ । उक्त साउण्ड सिस्टम कुनै साइन्टिफिक मुभी जस्तै भएको उल्लेख गरिएको छ ।

थ्रिडी साउण्ड सहितको उक्त डिभाइसबाट आउने साउण्ड प्रयोगकर्ताको कानभित्र गुन्जिरहेको जस्तै महसुस हुने जनाइएको छ । त्यसरी बज्दा वातावरणमा समेत साउण्डले कुनै किसिमको असर नगर्ने जनाइएको छ ।