कोरोनाका कारण बाँकेमा थप २ जना मृत्यु
३० कार्तिक, रौतहट । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुने बेलौरीका एक जना र कैलालीका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।
बेलौरी नगरपालिका–२ कञ्चनपुरका ३० वर्षका पुरुषको आइतबार विहान साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।
यही कात्तिक २३ गते अस्पताल भर्ना भएका उनका पीसीआर परीक्षण गर्दा कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा न्युरोसम्बन्धी समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
त्यस्तै, भजनी नगरपालिका–८ कैलालीका ६५ वर्षका पुरुषको शनिबार राति १०ः५० बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
कोरोना संक्रमणको लक्षण देखिएपछि कात्तिक २१ गते टीकापुर अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको भएको थियो ।
स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि २८ गते थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो ।
उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।