धनुषामा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी पक्राउ

   ३० कार्तिक २०७७, आईतवार ११:१०  

३० कार्तिक, रौतहट । जनकपुर उपमहानगरापालिका–४ स्थित नागेन्द्र साहको किराना पसलबाट ५८ बोतल एसिडसहित साहलाई पक्राउ गरिएको छ ।

एउटा बोतलमा ७ सय ५० एमएलको मात्रामा एसिड भेटिएको हो । एसपी बस्नेतका अनुसार आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेको खुलेको हो।

विराटनगरमा बिक्री गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए ।

शनिबार आफ्ना श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानमा जुटेका थियौँ , एसपी बस्नेतले भने, त्यही क्रममा सन्जिवले नागेन्द्रबाट एक बोतल एसिड लगेको भेटियो ।

पछिल्लो पटक साउनमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको घटनापछि सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश नै जारी गरेको छ । नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।

नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ । नयाँ कानुन आइसकेपछि पहिलोपटक धनुषामा एसिड प्रहारको घटना भएको हो । एसिड आक्रमणकारी र यसको अनुमतिबिना बिक्रीवितरण गर्नेै सन्जिव र नागेन्द्रमाथि नयाँ कानुन अनुसार कारबाही हुनेछ ।

एसिड अपराधविरुद्ध सक्रिय सामाजिक अभियन्ता उज्जवलविक्रम थापाले नयाँ कानुनअनुसार अपराधीलाई कारबाही गर्न र पीडितको संरक्षणमा सरकार नै रहेकाले उपचारमा आर्थिक अभाव नहुने बताए ।