व्यक्तिको नाममा दर्ता भएको राष्ट्रिय वनको १२२ विघा जग्गाको नेपाल सरकारको नाममा फिर्ता
२९ कार्तिक, रौतहट । भूमाफियाहरुले आफ्नो नाममा दर्ता गराएको राष्ट्रिय वनको जग्गा जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा पुनः नेपाल सरकारको नाममा फिर्ता भएको छ ।
हाल गुजरा नगरपालिका, साविक रंगपुर गाविस अन्तर्गत पर्ने राष्ट्रिय वनको १२२ विघा जग्गा २६ जना व्यक्तिले आफ्नो नाममा दर्ता गराएको भेटिए पछि २०७६ पुस ७ गते उक्त जग्गाको लगत कटा गरेर डिभिजन कार्यालय चन्द्रपुरले मालपोत कार्यालयमा सक्कल पत्र सहित पठाएको थियो । विभिन्न प्रक्रियागत हिसावको कारण लामो समय सम्म उक्त जग्गा नेपाल सरकारको नाममा कायम हुन नसकेको अवस्थामा गत कार्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, डिभिजन वन कार्यालयको संयुक्त वैठकबाट अतिक्रमित जग्गाको श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएपछि व्यक्तिको नाममा दर्ता भएको जग्गाको श्रेष्ता बदर गरी नेपाल सरकारको नाममा कायम गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

राष्ट्रिय वनको १२२ विघा जग्गा नेपाल सरकारको नाममा श्रेष्ता पारित भएपनि अझै व्यक्तिले भोगचलन गर्दै आइरहेका छन । “व्यक्तिको भोगचलनमा रहेको सो जग्गा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खाली गराउने निर्णय भएको छ ।” प्रमुख जिल्ला अधिकारी यादवले भने “वनक्षेत्रको जग्गा भएकोले यथाशिघ्र उक्त जग्गा विना बाधा अडचनको खाली गरिदिन आग्रह गरेका छौं ।” सरकारी जग्गा कब्जा गरी व्यक्तिको नाममा पुर्जा बनाएको साढे पाँच बर्ष पश्चात श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम गरिएको छ ।
मालपोत कार्यालय चन्द्रपुरले आवश्यक काम कारवाहीको प्रक्रिया पुरा गर्दै कार्तिक २७ गते व्यक्तिको नाममा रहेको श्रेष्ता बदर गरेर नेपाल सरकारको नाममा कायम गरिएको हो ।
वनको १२२ विघा जग्गा पास यसरी भएको थियो
रौतहट जिल्लाको उत्तरी भेगमा पर्ने रंगपुर गाबिस वडा नम्वर ५ मा रहेको राष्ट्रिय वनको स्वामित्वमा रहेका जग्गालाई भूमाफियाहरुले विस्तारै अतिक्रमण गर्दै उजाड बनाएका थिए । जिल्ला नापी कार्यालय रौतहटले २०७२ जेठ ६ गते पुर्जा बितरण गरी फिल्ड बुक र नक्सा कायम गरेको तथ्य सार्वजनिक भएपछि रहस्य खुलेको थियो ।
वनको त्यत्रो जग्गा व्यक्तिको नाममा पुर्जा वितरण भएको तथ्य बाहिर आएपछि त्यस विषयमा आवश्यक अनुसन्धान गर्न जिल्ला नापी कार्यालयमा जाँदा तत्कालिन नापी बिभागको आदेश अनुसार सरकारी स्वामित्वमा रहेको वनको जग्गालाई १ देखि २३ सम्मको कित्ताकाट गरी जग्गाधनी श्रेस्ताको लागि ०७२ चैत्र ८ गते मालपोत कार्यालयमा पेश गरेपछि वनको जमिन ब्यक्तिको नाममा दर्ता भएको भेट्टिएको थियो ।

तत्कालिन रंगपुर गाबिस वडा नम्वर ५ स्थित गुजरा सोती देखि पुर्वमा रहेको आबादी गाउँ देखि पश्चिम, नहरदेखि दक्षिण, गुजरा सोती देखि उत्तरको वन क्षेत्र सम्मको जमिनलाई नापी कार्यालयले सर्लाही, ओखलढुा, काठमाण्डौ, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक जिल्लाका ब्यक्तिहरुको नाममा जग्गाधनी श्रेस्ता कायम गरिएको थियो । भूमाफियाहरु संगको आन्तरिक साँठगाँठमा ईलाका वन कार्यालय चोचाका तत्कालिन रेन्जर रामकेबल यादबले पुरानो नम्बरी आबादी क्षेत्र भित्रको जमिन रहेको भन्दै २०६४ साल जेठ १७ गते नापी कार्यालयको फिल्डबुकमा हस्ताक्षर गरेर जग्गाधनी श्रेस्ता पुर्जा कायम हुने बाटो खोलि दिएका थिए ।






