प्रदूषण र जाडो बढेसँगै नयाँदिल्लीमा कोभिड–१९ को संक्रमण बढ्दै
२८ कात्तिक, रौतहट । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण र जाडो बढेसँगै कोभिड–१९ को संक्रमण पनि बढ्न थालेको छ । नयाँदिल्लीमा बुधबार एकै दिनमा ८ हजार ५ सय ९३ जना संक्रमित थपिएका छन् । एकै दिन संक्रमित भएकाहरूको यो हालसम्मकै ठूलो संख्या हो । नयाँदिल्लीमा मंगलबार ७ हजार ८ सय ३० संक्रमित थपिएका थिए ।
संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि बढेको छ । दिल्लीमा बुधबार मात्रै ८५ जनाको ज्यान गएको छ । यसअघि जुन १६ मा सबैभन्दा बढी ९३ जनाको भाइरसका कारण ज्यान गएको थियो ।
नयाँदिल्लीमा हालसम्म भाइरसका कारण कम्तीमा ७ हजार जनाको मृत्यु भइसकेको छ । केही महिना मत्थर देखिएको संक्रमण बिस्तारै बढ्न थालेपछि अस्पतालहरूमा चाप बढेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीका सबैजसो अस्पतालमा आधाभन्दा बढी शय्यामा कोभिडका बिरामी छन् ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सरकारी अस्पतालमा कोभिड बिरामीका लागि थप शय्याको व्यवस्था गर्न माग गर्दै केन्द्रीय सरकारलाई पत्राचार गरेका जनाइएको छ । कोभिड–१९ बाट प्रभावित मुलुकहरूको सूचीमा भारत दोस्रो स्थानमा छ । बिहीबार साँझसम्म भारतमा कुल ८६ लाख ८४ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । सेप्टेम्बर महिनाको मध्यदेखि भारतमा दैनिक रूपमा संक्रमितको संख्यामा कमि आउन थालेको जनाइएको थियो ।
संक्रमणको दर उच्च भएका बेला एकै दिन १ लाखको हाराहारीमा संक्रमित भेटिने गरेकामा केही सातापछि त्यो घटेर दैनिक ४० हजारभन्दा कममा झरेको थियो । हाल भने संक्रमितका संख्या ४० हजारभन्दा बढी छ । केही दिनयता भारतमा दैनिक ४५ देखि ५० हजार संक्रमित थपिएका छन् ।