बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३५ जना घाइते
२८ कार्तिक, रौतहट । बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३५ जना गम्भीर घाइते भएका छन् ।
बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पे नजिकको स्थानमा हिजो राति करिब १०ः३० बजेको समयमा बस दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १ जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडी प्रहरीले जनाएका छ ।
मा ५ ख ५१४१ नम्बरको बसमा करिब ४३ जना यात्रु सवार भएको बस बैतडीको गन्नाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जनक बहादुर धामीले जानकारी दिए ।
धामीका अनुसार घटनामा ३५ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । उनीहरूमध्ये गम्भीर ८ जना घाइतेलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।
बस सडकबाट करिब सय मिटर तल खसेको छ ।