सिमा नाका खुलाउन प्रदेश सदस्य देखि वडा अध्यक्ष सम्मको धर्ना

   २८ कार्तिक २०७७, शुक्रबार ११:३२  

२८ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना खुलाउन गौर भन्सार कार्यालय अगाडी धर्ना प्रर्दशन जारी रहेको छ ।

रौतहटको मुख्य नाका गौर भन्सार अगाडि बाट आवतजावत गर्न दिनु पर्ने र पहिलेकै अवश्थामा सिमा नाका सूचारु गर्नु पर्ने माँग गर्दै प्रदेश सभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका मेयर अजय गुप्ता तथा गौर नगरपालिकाका वडा अध्यक्षहरुले धर्ना दिएका छन ।
सिमा बन्द हुदा तिहार र छठका बेला आवश्यक पर्ने सामग्री खरिद गर्न दुवै देशका स्थानियलाइ मर्का परेको छ । चाडपर्वका बेला किनमेलका लागी भारतीय बजार सम्म जान नपाएको भन्दै आक्रोशित स्थानियले गौर भन्सार क्षेत्रमा बिहिवार पनि विरोध प्रर्दशन गरेका थिए । बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सिमाना अझै बन्द रहेको प्रति स्थानियमा आक्रोश रहेको छ ।

कोरोनाकै बहानामा लामो समय सम्म सिमाना बन्द गर्न नहुने स्थानियको माँग रहेको छ । नागरिक समाजको नेतृत्वमा भएको धर्ना कार्यक्रमममा अध्यक्ष जगरनाथ केशरी, गौर १ का वडा अध्यक्ष भरत साह, २ का वडा अध्यक्ष राकेश झा, जसपाका नेता रेवन्त झा, अनिल सिंह, नेपाली काग्रेंसका युवा नेता मोहन यादव, सज्जन साह, जेष्ठ नागरिक सँघका अध्यक्ष विजय किशोर झा लगायतका व्यक्तिहरु सहभागी रहेका थिए ।

“नाका खुलाउन सरकारले चासो दिएको छैन । सिमावर्ति क्षेत्रका स्थानियको कठिनाई सरकारले बुझ्न चाहेको छैन ।” रौतहट १ क का प्रदेश सभा सदस्य बाबुलाल साहले भने “नाका बन्द हुदा दुवै देशको नागरिकको जीवन प्रभावित भएको छ । सिमा क्षेत्रको व्यापार, आर्थिक क्रियाकलाप समेत ठप्प भएको छ ।” सरकारले दुई देशका स्थानियको सम्बन्ध समेत बिर्गान खोजेको साहको आरोप रहेको छ ।

यसै गरी नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले सरकार चाडपर्वको बेला निषेधागा जारी गर्ने र सिमानाका बन्द राख्ने निर्णय गरेर अन्याय गरेको बताए । “तराई मधेशको महापर्वको रुपमा छठलाई मनाइन्छ तर यस्तो पर्वको बेला निषेधाज्ञा जारी गरेको छ ।” अध्यक्ष केशरीले भने “जब सम्म सिमानाका पहिलेकै अवश्थामा खोलिदैन हामी आन्दोलनका कार्यक्रम जारी राख्छौं ।”

बन्द रहेको नाका खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले पनि आवाज उठाइ रहेका छन । खासगरी चाडबाडका बेला किनमेलका लागी दुवै तर्फका स्थानियहरुको सिमावर्ति बजारमा भिडभाड हुन्थ्यो । पहिले जस्तै सामान्य रुपमा मुख्य नाका सुचारु गर्न राजनितिक दलका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाए पनि हालसमम सिमा सुचारु हुन सकेको छैन ।