रौतहटमा महिलाको गोली हानी हत्या

   २७ कार्तिक २०७७, बिहीबार १०:२२  

२७ कार्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा गए राति १७ बर्षिया विवाहिता महिलाको गोली हानी हत्या भएको छ ।

माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहको १७ बर्षिया विवाहिता छोरी अमृता कुमारी साहलाई गएराति ११.३० बजेको समयमा गोलि प्रहार भएको थियो । सुतिरहेको अवस्थामा टाउकोको दाहिने कन्चटमा गोली लागे पछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक महिलाकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालय तर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोलि प्रहार गरेका थियो । गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर घरमा जाँदा छोरी छटपटिरहेको र केही वेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन ।

सुतिरहेको अवस्थामा विवाहित महिलाको माइतीघरमा हत्या भएको खवर प्राप्त भए पछि प्रहरी घटनास्थालमा पुगेको थियो । महिलाको पे्रम प्रसंङ्गका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साह संग मागी विहे भएका थियो । अमृता ससुराली घर बैशाख महिनामा गएको चौथो दिननै उनको श्रीमान रुपेश माथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाईते भएका रुपेशको तिन महिनाको उपचार पछि २०७७ साउन २५ गते जिल्ला अदालत मलंगवाबाट उनीहरुको सम्बन्ध विच्छेद भएको थियो ।

घटनामा सँलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।