नवलपरासीबाट ८ जुवाडे पक्राउ
२६ कार्तिक, रौतहट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्लाको कावासोती नगरपालिका १५ गोडारमा मीनराज महत्तोको घरमा तास खेलिरहेका अवस्थामा आज बिहान करिब १ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
तीन बुक तास र रु एक लाख ८६ हजार ९ सय ५ रुपैयाँ सहित ८ जनालाई पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी विशाल तामाङले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा जिल्लाको देवचुली–११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती–१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए ।
पक्राउ परेका आठै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।