नाका बन्द हुदाँ सिमामा समस्यामा
२६ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको सिमाना संचालन नहुदा स्थानियहरु समस्यामा परेका छन ।
भारतीय बजारसँग सिमा जोडिएको रौतहटमा मुख्य नाका भएर दुवै देशका तर्फबाट आवतजावन बन्द हुदा सिमामा समस्या देखिएको हो ।
रौतहटको मुख्य नाका गौर भन्सार बन्द भए पनि पूर्व तर्फको लक्ष्मीपुर बेलबिछवा र पश्चीममा महादेवपट्टी बाट भने स्थानियको आवागमन सूचारु रहेको छ । मुख्य नाका बन्द हुदा स्थानिय जोखिमपूर्ण रुपमा नेपाल भारतमा आवागन गर्न बाध्य रहेका छन । गौर भन्सारको मुख्य नाका बन्द भए पछि अहिले महादेवपट्टि र बेलबिछवाबाट बैकल्पीक बाटोको प्रयोगमा आएको छ ।
बन्द रहेको नाका खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले पनि आवाज उठाइ रहेका छन । खासगरी चाडबाडका बेला किनमेलका लागी दुवै तर्फका स्थानियहरुको सिमावर्ति बजारमा भिडभाड हुन्थ्यो । पहिले जस्तै सामान्य रुपमा मुख्य नाका सुचारु गर्न राजनितिक दलका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए पनि हालसम्म सिमा सुचारु हुन सकेको छैन ।
पर्वका बेला स्थानियलाई सास्ती, तस्करलाई छुट ।
तिहार र छठ पर्व नजिकिदै गर्दा बैकल्पीक बाटो प्रयोग गरेर भारतीय बजारमा किनमेलका लागी जानेहरु सुरक्षाकर्मीबाट पीडित बन्न थालेका छन । घरखर्चका लागी किनेर ल्याएका थोरै परिमाणका सामानहरु समेत सुरक्षाकर्मीले खोसेर भन्सार बुझाए पछि स्थानियहरु सशस्त्र प्रहरी बल प्रति चिढिएका छन ।
“तस्करी गर्नेहरु सँग यिनीहरुको सेटिङ्ग हुन्छ उनीहरुलाई सुरक्षाकर्मीले सहयोग गर्छन ।” गौर ३ का एक स्थानियले भने “लाखौं लाखको मालसामान तस्करी हुदा आखाँ चिम्लेर बस्ने सुरक्षाकर्मी र घुमुवाहरु दुई किलो चिनी र दुई थान साडी जफत गरेर ठूलो काम गरेको जस्तो गर्छन ।” तिहारमा घरखर्चको लागी ल्याएको चिनी र दुई थान सुतिको साडी सशस्त्र प्रहरीले जफत गरेको प्रति उनको आक्रोश थियो ।
सदरमुकाम भन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकाको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी र गौर नगरपालिकाको पश्चीममा रहेको महादेवपट्टि बाट मदिरा, रेडिमेड कपडा, खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बेलबिछवामा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी भए पनि संगठित तस्करहरुले दैनिकरुपमा अवैध सामग्रीहरु भित्राइरहेका छन । गौरबाट हुने तस्करी मात्रै होइन बंकुल, कटहरीया र रामपुर खापका क्षेत्रहरुबाट पनि घुमावाहरुले रकम उठाउने गरेका छन ।