पछिल्लो २४ घण्टामा मोरङमा मात्रै ९ जना संक्रमितको मृत्यु

   २५ कार्तिक २०७७, मंगलवार १३:२३  

२५ कार्तिक, रौतहट । मोरङमा बितेको २४ घण्टामा मात्रै ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा २ जना, न्युरो अस्पतालमा १ जना र होम आइसोलेशनमा १ जना गरी थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नोबेल अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षिय पुरुष, झापा गौरादह–५ का ६५ वर्षिय पुरुष, झापाको हल्दिबारी–४ का ७० वर्षिय पुरुष, उदयुरको त्रियुगा–३ का २१ वर्षिय पुरुष, मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ की ६९ वर्षीया महिला र विराटनगर–३ का ७७ वर्षिय पुरुषको मंगलबार विहान मृत्यु भएको छ ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षिय पुरुषको सोमबार राति मृत्यु भएको छ । मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षिया महिलाको आफ्नै घरमा ज्यान गएको छ ।

उनको मंगलबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्याहरू रहेको अस्पतालहरुले जनाएका छन् ।