अर्मेनिया र अजरबैजानबीच नागोर्नो-काराबाख क्षेत्रमा द्वन्द्व समाधानका लागि सम्झौता

   २५ कार्तिक २०७७, मंगलवार १३:१८  

२५ कात्तिक, रौतहट । रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो–काराबाखमा जारी सैन्य संघर्ष अन्त्यका लागि मंगलबार एक सम्झौता भएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले फेसबुकमार्फत अर्मेनिया–अजरबैजान र रुसबीचमा विवादित भूभागमा द्वन्द्व कम गर्न सम्झौता भएको जानकारी दिएका छन् । अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानले यस सम्झौतालाई ‘आफू र देशवासीका लागि दुर्दनाक’ भएको पनि बताएका छन् । नागोर्नो–काराबाख क्षेत्रमा ६ हप्ता लामो सैन्य तनावपछि यो सम्झौता भएको हो ।

अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानले केही दिनमा राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बताएका छन् । पाशिन्यानका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान एक बजेदेखि उक्त सम्झौता लागू भएको छ । सम्झौताका बारेमा पछि रुस र अजरबैजानले पनि औपचारिक रुपमा पुष्टि गरेका छन् । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको अनलाइन कुराकानीमा त्रिपक्षीय सम्झौता द्वन्द्व व्यवस्थापनका लागि महत्वपूर्ण भएको बताएका छन् ।

राष्ट्रपति अलियेभले यस सम्झौताले ‘ऐतिहासिक महत्व’ राख्ने उल्लेख गर्दै अर्मेनियाले नचाहँदा नचाहँदै पनि यो सम्झौतामा हस्ताक्षर गर्न राजी भएको बताएका छन् । त्यस्तै अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानले भने विवादित क्षेत्रका बारेमा जानकार व्यक्तिहरुसँगको कुराकानी र ‘गहन विश्लेषण’ पछि सम्झौतामा हस्ताक्षर गरिएको बताएका छन् ।

सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो–काराबाखका केही क्षेत्र आफूले नै राख्ने भएको छ । आगामी केही हप्तासम्ममा अर्मेनिया त्यस क्षेत्रका केही भागबाट पछि हट्ने भएको छ ।

विवादको मुदा के हो ?

नागोर्नो–काराबाख पहाडी क्षेत्र हो । आधिकारिक रुपमा यो अजरबैजानको हिस्सा भए पनि सन् १९९४ को युद्धपति यस क्षेत्रमा अर्मेनियाले कब्जा गर्दै आएको छ । पूर्व सोभियत संघको हिस्साका रुपमा रहेका अर्मेनिया र अजरबैजान नागोर्नो–काराबाख क्षेत्रलाई लिएर सन् १९८० र ९० को दशकको सुरुवातमा एकअर्काबीच लडेका पनि थिए । त्यस अवधिमा करिब ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । १९९४ मा भएको युद्धविरामपछि पनि दुई देशबीच लगातार गतिरोध जारी रहेको छ ।

नागोर्नो–काराबाख क्षेत्रको क्षेत्रफल ४ हजार ४ सय वर्गकिलोमिटर रहेको छ । अन्तर्राष्ट्रिय रुपमा यस क्षेत्रलाई अजरबैजानकै हिस्साका रुपमा मान्यता दिए पनि यस क्षेत्रमा बढी बसोबास भने अर्मेनियाली मूलकै बासिन्दाको रहेको छ ।

एजेन्सी