कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

   २५ कार्तिक २०७७, मंगलवार ११:०४  

२५ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण बाँकेमा उपचाररत बर्दियाका दुई जना र दाङका एक् जना गरी थप तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुष रहेका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको हो ।

यही कात्तिक २३ गते करिब ७ बजेको समयमा अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो । अक्सिजन र एन्टिबायोटिक लगायत सबैखाले उपचार विधि अपनाउँदा पनि उनलाई बचाउन नसकिएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरशेबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मृतकमा निमोनियाको समस्या थियो ।

यस्तै, बर्दियाकै बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि, मृत्यु भएको हो ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको गएराति साढे ९ बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

बाँकेका अस्पतालहरुमा बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३२ पुगेको कोभिड संकट व्यवस्थापन केन्द्र बांकेले जनाएको छ ।