राजपुर बमकाण्ड मुद्दामा अदालती कारवाही शुरु
२२ कार्तिक, रौतहट । चर्चित राजपुर बमकाण्ड मुद्दाको विषयमा अदालती कारबाही अगाडि बढेको छ । रौतहटको राजपुर बम काण्डको मुद्दा जिल्ला अदालत गौरको आदेशबाट बुधबारदेखि साक्षी बकपत्र सुरु भएको थियो ।
आफताब आलम मुद्धामा साक्षी बकपत्र गर्ननै एक महिना लाग्ने अनुमान गरिएको छ । राजपुर बम काण्डमा संलग्न व्यक्तिहरुको विरुद्ध जिल्ला अदालत गौरमा चल्दै आएको मुद्दामा दशै पर्व अगाडि कार्तिक १९ गते साक्षी बकपत्र गराउने आदेश भएको थियो । सोही आदेशबमोजिम वादी र प्रतिवादीको साक्षी बकाउने काम तोकिएकै मितिमा सुरु भएको हो ।

मुद्दामा वादी र प्रतिवादी गरी २२ जनाको बयान लिइने छ । बुधबार देखी शुक्रबार दिउसो सम्म एकजनाको मात्र बयान लिने काम भएको सरकारी वकिलको कार्यालय रौतहटका जिल्ला न्यायधिबक्ता सुवास कुमार भट्टराइले बताए । घटनामा परेर बाँचेकामध्ये एकजना भारतीय साक्षीबाट अदालतले बयान लिन सुरु गरेको थियो । जाहेरीवाला मध्येको तथा उक्त बम विस्फोटन काण्डमा गम्भीर घाइते भए पनि बाँच्न सफल भएको भारत विहार सितामढी जिल्ला मुसाचक गाउँका गौरीशंकर रामको मात्र बयान सकिएको जिल्ला अदालत गौरका श्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिएका छन् ।
२०६४ चैत २८ मा संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा राजपुरस्थित शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यस क्रममा विस्फोट भएको थियो । विस्फोटमा परी हाल यमुनामाई गाउँपालिका सरुअठाका श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित तीन जनाको मृत्यु तथा १५–१६ जना घाइते भएको गरी २३ जनालाई इँटाभटामा हालेर प्रमाण नष्ट गर्ने प्रयास गरिएको आरोप रहेको छ ।

राजपुुर बम काण्डका मुख्य अभियुक्त भनिएका पुर्ब मन्त्री तथा काग्रेस नेता मोहमद आफताव आलम अहिले पुर्पक्षका लागि जेलमा रहेका छन् । घटनापछि मृतक र घाइतेलाई इँटाभट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २०७६ असोज २६ गते नेपाली काँग्रेसका तत्कालीन सांसद एवं नेता मोहम्मद आफताव आलमलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । सोहीअनुसार उनलाई जिल्ला अदालत गौरमा थुनछेकको लामो बहसपछि कार्तिक २९ गते पुर्पक्षका लागि गौर कारागार चलान गर्न आदेश दिएको थिए ।






