९६ वर्ष पुरानो गौर कारागारमा कैदीलाई भित्रै मरिन्छ की भन्ने चिन्ता

   २१ कार्तिक २०७७, शुक्रबार १६:०५  

२१ कार्तिक, रौतहट । रौतहट सदरमुकाम गौरमा रहेको जिल्ला कारागारमा क्षमता भन्दा ३ गुणा बढी कैदी सँख्या भए पछि अवश्था दयनीय बनेको छ ।

कारागार बन्दी गृह होइन, सुधार गृह हुनु पर्छ र कैद सजाय पाएकाहरुले पनि मानविय रुपमै आफ्नो सजाय भुक्तानका लागी उचित बास स्थान पाउनु पर्छ भन्ने अन्तराष्ट्रिय मान्यता रहेको छ तर रौतहट जिल्ला कारागारको अवश्था भने निकै दयनीय रहेको छ ।

वि.स. १९८१ मा निर्माण भएको यो कारागार हाल सम्म पनि झण्डै उस्तै अवश्थामा रहेकोले भित्र रहेका कैदी बन्दीको अवश्था निकै खराब रहेको छ । १२० कैदी राख्न मिल्ने सो कारागारमा अहिले ३६० बन्दीहरु रहेका छन । क्षमता भन्दा ३ गुणा बढी कैदी रहेको जीर्ण भवनमा त्राशपूर्ण जीवन काटी रहेका कैदीहरुको लागी केन्द्र, प्रदेश तथा स्थानिय सरकारले ध्यान दिनु पर्ने उनीहरु बताइ रहेका छन ।

राणाकालीन कारागारका संरचनाहरु समय सँगै परिवर्तन हुन नसक्दा कैदीहरु अमानविय रुपमा खादिएर बस्न बाध्य भएका छन । गर्मीको बेला खादिएर सुत्न नसक्ने कैदीहरु वर्षा लागे पछि पानीमा रुझ्दै बस्न बाध्य हुन्छन भने चिसोमा कठयाङग्रीनु पर्ने अवश्थामा छन । कारागार प्रशासनले जीर्ण भवनको बारेमा बारम्बार पत्राचार गरे पनि हाल सम्म कुनै सुधार नभएको जनाएको छ ।

खिया लागेर भत्कीएका झ्याल, ढोका र कैदी बन्दीको अत्याधिक चापले बस्न गाह्रो भएको कैदीहरुले बताए । ९६ वर्ष पुरानो कारागारमा जुनसुकै बेला भवन भत्कीएर मान्छेको ज्यानै जान सक्ने अवश्थाका बिच कैद भुक्तान गरिरहेका कैदीहरुलाई कारागार भित्रै मरिन्छ की भन्ने चिन्ता बढेको उनीहरुले बताए ।

समय सँगै कारागारका पूर्वाधार पनि विकसित गर्दै जानुपर्ने तथा कसुरका आधारमा सजाय काटने बन्दीहरु पनि मानव नै हुन भन्ने सोचका साथ कारागारहरुलाई व्यवस्थीत सुधार गृह बनाउन सरकारले जोड दिन कैदीहरुले माँग गरेका छन ।

जीर्ण भवनका कारण कैदीहरुको व्यवस्थापन मात्रै नभएर सुरक्षाकर्मी र कर्मचारीको व्यवस्थापनमा पनि समस्या आएको गौर कारागारका अधिकृत शम्भू प्रसाद यादवले बताए । कारागारको अवश्थाको बारेमा सम्बन्धीत निकायलाई जानकारी गराए पनि हाल सम्म प्रगति नभएको बताउदै अधिकृत यादवले कोरोना संक्रमणका बेला क्षमता भन्दा बढी कैदी हुँदा जोखिम थपिएको बताए ।