विद्युत र चन्द्रपुर अस्पतालको अगाडीको बाटोमा ट्राफिक नबस्दा दैनिक दुर्घटना बढदै

   २१ कार्तिक २०७७, शुक्रबार १४:०८  

२१ कार्तिक, रौतहट । नेपाल विद्युत प्रधिकरण र चन्द्रनिगाहपुर गौर सडकको चन्द्रपुर अस्पतालको अगाडीको ट्राफिक नबस्दा सडकमा दुर्घटना बढदै गएको छ ।

गौर चन्द्रनिगाहपुर सडकको चन्द्रनिगाहपुर स्थित मुख्य सडकबाट दउराली चोक सम्मको सडकमा दुर्घटनाको खतरा बढदै जादाँ यही कार्तिक १९ गते (बुधबार) राती सोही स्थानमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

नेपाली काग्रेसका नेता तथा स्थानीय युवा मुकेश गिरीको अनुसार सडकको एक साईडमा बन्दै गरेको नालामा लाग्ने समानको मनपरी रखाइ,चन्द्रपुर अस्पतालमा ,विद्युत र साह ड्रग्समा आउने सेवाग्राही र बाटोमा राखिएका ठेलाका कारण सो स्थानमा दुर्घटना बढदै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर चन्द्रपुर अस्पताल अगाडी ट्राफिक प्रहरी खटाउँनु पर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

यस्तै, स्थानीय युवा रबी राना मगरका अनुसार सवारी दुर्घटना कम गर्नेको लागि सो स्थानमा एकजना ट्राफिक प्रहरी खटाउनु नै पर्छ ।

विद्युतमा बिल तिर्न र चन्द्रपुर अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको सवारी साधानका कारण अस्पताल आसपासमा सवारी साधानको भिड लाग्दा पनि दुर्घटना बढदै गएको स्थानीयको भनाइ रहेको छ ।

चन्द्रपुर अस्पतालको दुई सय मिटर आसपासमा चार चक्के, मोटर साइकल र ठेला गाडाका कारण दुर्घटना बढदै गएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कुनै चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।सो बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख संग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन नसकेका उनीहरुको भनाइ छ ।

चन्द्रपुर नगरपालिकाले सो स्थानमा बनाउदै गरेको नालामा प्रयोग हुने समान समेत राजमार्ग छेउमै राखेका कारण सवारी दुर्घटना बढेको भन्दै सामाजिक संजालमा चर्को बिरोध भएको थियो ।

सो बाटोमा हुने भिडका कारण सवारी दुर्घटना हुने र त्यसले कसैको अकालमा ज्यान जाने भन्दै स्थानीयले सम्बन्धीत निकायलाई बिभिन्न माध्यमबाट सचेत गराउदै आएका थिए ।