धादिङ शाखाका संस्थापक अध्यक्ष रहेका ७९ वर्षीय पत्रकार सीताराम बर्माको निधन
२१ कार्तिक, रौतहट । काठमाडौँस्थित किष्ट अस्पतालमा उपचाररत पत्रकार सीताराम बर्माको निधन भएको छ ।
नेपाल पत्रकार महासंघ धादिङ र नेपाल प्रेस युनियन धादिङ शाखाका संस्थापक अध्यक्ष रहेका ७९ वर्षीय बर्माको निधन भएको हो ।
बर्मालाई कोरोना संक्रमणका लक्षण देखिए पनि कोरोना रिपोर्ट नेगेटिभ आएको थियौ । पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छतकुलीका अनुसार पत्रकार बर्मा प्रेसरका पनि बिरामी थिए । उनको उपचारका क्रममा निधन भएको प्रेस युनियनले विज्ञप्ति निकालेर उल्लेख गरेको छ । उनकी कान्छी पत्नीको पनि हालै निधन भएको थियो ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले शुक्रबार बिहान निकालेको विज्ञप्तिमा बर्माको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बर्माको निधनको खबरले दुखी बनाएको बताएका छन् ।
पत्रकार महासंघ धादिङले शोक विज्ञप्ति निकालेर श्रद्धाञ्जली दिएको छ । बर्माका तीन छोरी दुई छोरामध्ये एक छोराको निधन भइसकेको छ।
बर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।