धरानमा थप तीन जना कोरोना संक्रमितले ज्यान गुमाए

   २० कार्तिक २०७७, बिहीबार १३:३३  

२० कार्तिक, रौतहट । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सपतरीका दुई जना र मोरङका एक जना गरी थप तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

सप्तरीको राजविराज १ की २३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे मृत्यु भएको हो । यही कार्तिक १८ गते उनलाई कोरोना संक्रमण पुष्टि भएपछि, बिहीबार उनी उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । डा. श्रेष्ठका अनुसार उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी पनि थिइन् ।

यस्तै, सप्तरीकै राजविराज ८ का ६५ वर्षीय पुरूषको आज बिहान ८ बजे मृत्यु भएको श्रेष्ठले बताए । ती पुरुषमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको र सोही दिन उनी अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी, कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । डा. श्रेष्ठका अनुसार उनी हाइपरटेन्सन र मुटुका रोगी थिए ।