कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

   १९ कार्तिक २०७७, बुधबार १४:४०  

१९ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । विराटनगरमा दुई जना र गजेन्द्रनारायण अस्पतालका एक कर्मचारीको मृत्यु भएको हो ।

अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार भर्ना भएकी थिइन् । सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी, झापाको दमक–३ का ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनी बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् । दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसैगरी, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याबमा फर्मासिस्ट पदमा कार्यरत २८ वर्षीय युवकको बुधबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।

यही कात्तिक १५ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएपछि उनी अस्पताल अन्तर्गत साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिए ।

उनको आइसोलेसन केन्द्रमै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झाले जानकारी दिए ।