भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

   १९ कार्तिक २०७७, बुधबार १३:२७  

१९ कार्तिक, रौतहट ।भारतीय वायु सेनाको विमानमार्फत बुधबार भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी काठमाडौं आएका हुन् ।

नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नरावणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आइपुगको विमानस्थल स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्।

नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ। त्यहीअनुरूप प्रधानसेनापति नियुक्त भएपछि पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी ग्रहण गरेका थिए।

उनले रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय छलफल गर्नेछन् । प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच उत्पन्न पछिल्लो परिस्थिति र आफ्नो अडानबारे कुरा राख्ने तयारी रहेको स्रोतले बताएको छ।