कोरोना भाइरसको संक्रमणले थप तीन जनाले ज्यान गुमाए

   १९ कार्तिक २०७७, बुधबार १०:३९  

१९ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । गुल्मीमा एक जना र प्रतिष्ठानमा दुई जना गरी थप तीन जना संक्रमितले ज्यान गुमाएको हो ।

गुल्मीदारबार गाउँपालिका वडा नं. ६ निवासी ८५ वर्षीय पुरुषको मंगलबार साँझ करिब ७ः३० बजेको समयमा कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । यही कार्तिक १३ गते कोरोना पुष्टि भएपछि, उपचारकोण् लागि उनी अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी उच्च रक्तचापका दीर्घरोगी समेत रहेको प्रवक्ता गौतम बताए।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७७ पुगेको छ ।

त्यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको आजै बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।
ती बालिकामा यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई भोलिपल्टै कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।