रौतहटका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

   १८ कार्तिक २०७७, मंगलवार १५:५२  

१८ कार्तिक, रौतहट । रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाईरस (कोभिड १९) संक्रमण भएको छ ।

रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराएका उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । हाल एसपी शाह सेल्फ आईसोलेसनमा बस्नुभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । रौतहटमा पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएका छन् । तर सुरक्षाको उपाय भने शून्य छ ।

कोरोना भाईरसका कारण हालसम्म १३ जनाको ज्यान गैसकेको छ । महामारी नियन्त्रण गर्न जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बसेर नयाँ रणनिति तयार गरेर अघि बढने सिडियो इन्द्रदेव यादवले बताए ।