गुगल म्यासेजको नयाँ फिचर, क्याटेगोरी अनुसार म्यासेज

   १८ कार्तिक २०७७, मंगलवार ११:५६  

१८ कात्तिक, रौतहट । हामी कतिपयलाई गुगलको म्यासेजिङ एपको बारेमा जानकारी नहुन सक्छ । किनभने धेरैजसो ब्राण्डका फोनमा मोबाइल म्यासेजका लागि छुट्टै एपको प्रयोग भएको हुन्छ ।

कतिपय फोनमा गुगल म्यासेज नै डिफल्ट म्यासेजिङ एपकै रुपमा रहेको हुन्छ । यदि मोबाइलमा गुगल म्यासेज छैन भने पनि तपाईंले गुगल प्ले स्टोरबाट यसलाई डाउनलोड गर्न सक्नुहुनेछ ।

यसअघि मोबाइलमा गुगल म्यासेज प्रयोगको मज्जा लिइरहेका प्रयोगकर्ताले सामान्य म्यासेजिङको तुलनामा पक्कै बेग्लै अनुभव लिएका छन् । हुन त म्यासेज पठाउने त हो नि भन्न पनि सकिन्छ ।

तर, म्यासेज पठाउँदा त्यसमा प्रयोग हुने परिकारले पनि धेरै कुरालाई फरक पार्छ । त्यही परिकार सहितको गुगल म्यासेजिङको प्रयोग पछिल्लो समय बढी रहेको छ । प्रयोगकर्ताको आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले पनि समय समयमा विभिन्न फिचरहरु थप गर्दै आइरहेको छ ।

यसै क्रममा कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचर केही प्रयोगकर्तामा उपलब्ध नै भइसकेको उल्लेख छ ।

कम्पनीले प्रयोगकर्ताको सहजताको लागि क्याटेगोरी छुट्याएको हो । विभिन्न म्यासेज एकै ठाउँमा आउँदा हुने झन्झटलाई कम गर्न कम्पनीले म्यासेजको प्रयोजन अनुसार छुट्याएको छ ।

यसको अर्थ गुगल म्यासेजमा अब चारवटा क्याटेगोरी हुनेछ । जसमा ‘अल’, ‘पर्सनल’, ‘ट्रयान्ज्याक्सन’ र ‘ओटीपी’ रहने छ ।

जसमध्ये ‘अल’ मा अहिले जस्तै सबै म्यासेज एकै ठाउँमा हुनेछ भने पर्सनलमा व्यक्तिको मोबाइल नम्बरबाट आएको म्यासेज रहनेछ ।

त्यस्तै ट्रान्जेक्सनमा तपाईंले गर्ने बैंकिङ कारोबारसँग सम्बन्धित म्यासेज छुट्टिएर बस्नेछ भने ओटीपीमा विभिन्न ठाउँमा लगईन गर्दा प्रयोग हुने ओटीपी कोडको म्यासेज रहने छ ।

यसरी म्यासेजलाई क्याटेगोरी अनुसार छुट्याएर दिँदा प्रयोगकर्तालाई म्यासेज खोज्न सहज हुने अपेक्षाका साथ कम्पनीले यसको तयारी गरिरहेको उल्लेख गरिएको छ ।