न्याय नपाएको भन्दै रौतहटका दलित पुनः आन्दोलित
१७ कर्तिक, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षिय विजय रामको घटनाका सम्बन्धमा हाल सम्म पनि कारवाहि नभएको भन्दै रौतहटका दलित समुदाय आन्दोलित भएका छन ।
साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको उपचारको क्रममा मृत्यु भएको थियो । हिरासतमा भएका व्यक्तिको मृत्यु भए पछि परिवारजन तथा स्थानीयले केही दिन सम्म प्रहरी विरुद्ध प्रर्दशन गरेका थिए ।
दलित मारिएको घटनाका बारेमा गृहमन्त्रालयका उपसचिवको संजोजकत्वमा छानबिन समिति गठन भए पनि सो छानबिन समितिको प्रतिवेदन अनुसार तत्कालिन प्रहरी प्रमुखहरुलाई कारवाही नभएको भन्दै दलितहरुले गौरमा प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले हिरासतमा यातना दिएको भेटेपछि जिल्ला प्रहरी प्रमुख एसपी खडकाको जिम्मेवारी खोसिएर उनको स्थानमा सिद्धिविक्रम शाहलाई पठाएको थियो भने प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेको थियो । यसै गरी प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविन कुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।
मुद्दा दर्ता भइसक्दा पनि यातना दिने प्रहरीहरुलाई कारवाही निलम्बन बाहेक अरु कुनै कारवाही हुन नसकेको प्रति दलित अगुवाहरुले आक्रोश पोखेका छन । “दलितको विषयमा राज्यले जहिले पनि अवहेलना मात्रै गरेको छ ।” दलित अगुवा धर्मेन्द्र पासवानले भने “हिरासतमा यातना दिएर मान्छे मार्ने तत्कालिन प्रहरी प्रमुखहरुलाई थुनामा राखेर छानबिन गर्नु पर्छ ।”
निरजंन, विजय राम हत्याकाण्डको सम्बन्धमा छानबिन, दोषि प्रहरीहरुलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्ति पाउनु पर्ने पीडित परिवारको माँग छ ।