गोरखाका सीडीओ र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि

   १७ कार्तिक २०७७, सोमबार १४:१७  

१७ कार्तिक, रौतहट । गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीयो) तीर्थराज भट्टराई र उनकी पत्नीसहित नगरपालिकाका १२ जनालाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

रुघाखोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएपछि, पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको प्रजिअ भट्टराईले जानकारी दिए । स्वाब संकलन गर्नु अघिल्लो दिनदेखि नै आफू होम आइसोलेसनमा रहेको प्रजिअ भट्टराईले बताएका छन् ।

उनले भने, ‘दसैँको बेला परिवार यतै थियौं,’ ‘रुघाखोकी लागेर टाउको दुख्न थालेपछि शंका लाग्यो अनि स्वाब टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखियो ।’ यही कात्तिक १४ गते उनको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो ।

‘आम गोरखावासी दाजुभाइ दिदीवहिनीहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक रणनीति अपनाउन अनुरोध गर्दा गर्दै आफूलाई नै त्यही संक्रमण हुँदा कता कता नमिठो अनुभूति भएको छ,’ उनले बताए ।

भट्टराईले आफू र आफ्नी पत्नीको सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनसमेत आग्रह समेत गरेका छन् ।