रौतहटमा पुनः भुसको आगो जस्तै सल्कीदै कोरोना संक्रमण

   १७ कार्तिक २०७७, सोमबार ११:५१  

 

१७ कार्तिक, रौतहट । दशैं सकिए लगतै रौतहटमा कोरोना संक्रमितको सँख्या पुनः तिव्र गतिमा बढन थालेको छ । आइतवार एकै दिन रौतहटमा १४ नयाँ संक्रमित फेला परेका छन ।

बन्दाबन्दी पूर्ण रुपमा खुले पछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय संचलानमा छन । बजार, कार्यालय, व्यापार सबै पहिलाकै अवश्थामा संचालनमा आउदा कोरोना संक्रमण बाट जोगीन अपनाउनु पर्ने स्वास्थ्य सुरक्षामा भने स्थानियले ध्यान दिन छोडेका छन ।

स्थानियले मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छोडे पछि कोरोना संक्रमण पुनः भुसको आगो जस्तै सल्कीन थालेको छ । संक्रमितहरु तिव्र गतिमा बढन थाले पछि अवश्था जटिल बन्ने संभावना उच्च बनेको चिकित्सकहरुले बताएका छन । पछिल्लो एक सातामा रौतहटमा १ सय ८९ जनाको स्वाब परिक्षण गरिएकोमा १ सय जनामा कोविड १९ को संक्रमण पुष्टी भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

रौतहटमा हाल २ हजार ६४ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोनाका कारण रौतहटमा हाल सम्म १३ जनाले ज्यान गुमाएका छन । “बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनु, सचेतना नअपनाउने बानीले गर्दा जोखिम झनै बढेको छ ।” गौर अस्पतालका डा. कृष्ण साहले भने “चाडबाडका बेला भएको भिडभाडले संक्रमण फैलिएको हो । अझै पनि सचेत हुन सकिएन भने अवश्था भयावह हुन सक्छ ।”

पछिल्लो समय, स्थानिय सँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि, कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ । बढदो संक्रमण चिन्ताको विषय बनेको र जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक पछि नयाँ रणनिति तयार गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । संक्रमणको शंका लागेका र कन्ट्याक्ट ट्रेसिङ्गमा परेका व्यक्तिहरुको परिक्षण गर्दा संक्रमितको सँख्या बढेको हो ।

कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिए पनि परिक्षण नै नगराएर घरमै बस्नेको सँख्या पनि रौतहटमा धेरै रहेको छ । सकेसम्म परिक्षण नगराउने पक्षमा रहेकाहरु ज्वरोले च्यापे पछि मात्रै स्वाब परिक्षणका लागि जिल्ला अस्पताल गौरमा रहेको ल्याबमा जाने गरेका छन । दिपावली तथा छठ पर्व नजिकिदै जाँदा बजारमा बढेको भिडभाडले पनि संक्रमण नियन्त्रण बाहिर जाने उच्च जोखिम छ ।