कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

   १७ कार्तिक २०७७, सोमबार १०:४८  

१७ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीमा एक जना र चितवनमा दुई जना रहेका हुन् ।

सिन्धुलीका कमलामाई नगरपालिका–६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको थियोे । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो ।

तर, विरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि शनिबार राति साढे ९ बजे उनलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो धुलिखेल अस्पतालको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको प्रयोगशालाले आइतबार साँझ ६ बजे जानकारी दिए । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।

सिन्धुलीमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

त्यसैगरी, भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।सबै उपायहरु गर्दा गर्दै आइतबार राति १ः२० बजे उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

त्यस्तै, भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार भइरहेको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।